–सुनिता सुवेदी
भरतपुर। अण्डा पार्ने र मासुको लागी प्रयोग हुने कुखुराको कल्याणको लागि पिंजडामुक्त र वातावरणमैत्री खोर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
एनिमल नेपालले शुक्रबार भरतपुरमा आयोजना गरेको पशु कल्याणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले पशु कल्याणको विषयमा किसान र व्यापारीले ध्यान दिनुपर्ने बताएका छन् ।
एनिमल नेपालकी व्यवस्थापक सुलक्षणा राणाले संसारभर विभिन्न प्रयोजनको लागि जनावरलाई प्रयोग गरिने भएतापनि उनीहरुको कल्याणमा भने ध्यान दिन नसकेको गुनासो गरिन् ।
पशु ढुवानी गर्दा होल्डिङ सेन्टर बनाएर पशु कल्याणमा राहत दिलाउन आवश्यक रहेको उनले बताइन् । कुखुरापालन गर्दा अव्यवस्थित खोर र कोचेर पशुको ढुवानी गर्नु पशु कल्याण विपरित भएको उनको भनाई छ ।
‘नेपालको पाँच स्थानमा होल्डिङ सेन्टर बनाउने व्यवस्था छ, उनले भनिन्, ‘हरेक ४ घण्टामा होल्डिङ सेन्टरमा गाडी रोकेर पशुलाई दानापानी खुवाएर आरामसँग ढुवानी गराउनु आवश्यक छ ।’
एनिमल नेपालले चितवन लगायत देशका विभिन्न १० स्थानमा पशु कल्याण सम्बन्धि कार्यक्रम गर्दै आइरहेको उनले बताइन् । चितवनमा कुखुरापालन गर्ने किसान, व्यवसायी र उपभोक्ताले समेत पशु कल्याणको विषयमा बुझ्नु पर्ने उनको भनाई छ ।
एनिमल नेपाल चितवनकी संयोजक सुमेदा गौतम मैनालीले कुखुराले प्राकृतिक व्यवहार देखाउन पाउनुपर्ने बताइन् । कुखुरापालन गर्दा बनाइने खोर सफा, प्राकृतिक र वातावरण मैत्री हुन नसक्नु पशु कल्याणहित विपरित भएको बताइन् ।
‘प्राकृतिक व्यवहारलाई स्वतन्त्र हुन दिएपछि मात्रै कुखुरा मानसिक र शारिरिक रुपमा स्वस्थ हुन्छ,’ उनले भनिन्, ‘पशु कल्याण गरेर पशुपालन गरेको भए मानिसको पनि कल्याण हुन्छ र स्वतस्फूर्त मानिसलाई नै फाइदा हुन्छ ।’
कुखुराको ढुवानी गर्दा हरेर ४/४ घण्टाको फरकमा गाडी रोकेर दानापानी आरामसँग ढुवानी गर्नुपर्ने उनी बताउँछिन् । खोरमा भन्दा प्राकृतिक रुपमा खुल्ला वातावरण पालेका र पशु कल्याण गरेका कुखुरा मोटा, स्वस्थ र चनाखा हुने गरेको उनले बताइन् ।
‘कल्याण नगरेका पशु रोगी हुन्छन्, जसलाई मानिसले खाइरहेका छन्, यो विषयको ज्ञान कसैलाई छैन,’ उनले भनिन्, ‘पशु कल्याणको विषयमा सचेतना भएमा यो समस्याबाट पशु र मानिस दुवैले मुक्ती पाउने थिए ।’












