काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ
ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ।
उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।
अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्। त्यस्तै गरी हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा विप्लव लगायत सन्तोष बूढामगर, नविन विश्वकर्मा र उदयबहादुर चलाउने लगायतका नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।












