काठमाडौं । विश्वका १९ प्रतिशत व्यक्तिले मात्रै शौचालय प्रयोगपछि हात धुने गरेको पाइएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका (सीडीसी) अनुसार शौचपछि हात नधुनेमा विकसित मुलुकहरू केही अगाडि देखिन्छन् तर, अमेरिकी मुलुकमा पनि यो दर ५८ प्रतिशतभन्दा बढी छैन ।
विकासशील र अल्पविकसित देश सबैको तथ्यांक हेर्ने हो भने हात धुनेको सरदर दर १९ प्रतिशत मात्रै पुग्ने सीडीसीले जनाएको छ । कोरोनाकालपछि यो दर बढेर २५ प्रतिशत पुगेको छ, तर सबै देशहरूमा यसलाई नियमितता दिइएको छैन ।
बाटर एडले सन् २०२० मा गरेको एक अध्ययनले पनि प्रत्येक पाँचमध्ये चार जनाले शौचपछि हात नधुने गरेको देखाएको थियो । हात नधुनेमध्ये अधिकांशले अन्जानमै आँखा, कान र मुखमा छुने गरेको पाइन्छ । यसले उनीहरुलाई विभिन्न संक्रमणजन्य रोगको सिकार बनाइरहेको हुन्छ ।
सीडीसीका अनुसार मानव मलको एक ग्राममा एक ट्रिलियन किटाणु हुन्छ । शौचपछि हात नधोइ छोइएको सतह, प्रयोग गरिएको कपडा र पेपरबाट पनि किटाणु सर्ने सम्भावना रहन्छ ।
साबुनपानीले हात धुँदा झाडाबान्ता, पेट दुखाउने नोरोभाइरसलाई मार्ने काम गर्दछ तर अल्कोहलयुक्त स्यानिटाइजरले ती जीवाणुलाई निस्क्रिय मात्रै गराउने काम गर्दछ ।
स्यानिटाइजरले कडा किसिमका रसायन तथा विषहरूलाई नर्मान पनिसक्ने हुनाले सम्भव भएसम्म साबुनपानीले हात धुनु नै हात स्वच्छताको उत्तम उपाय भएको सीडीसीले जनाएको छ ।
सीडीसीका अनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्षमुनिका १८ लाख बालबालिकाको मृत्यु झाडापखाला र निमोनियाका कारण हुने गरेको छ, जसको मुख्य कारण हातको सरसफाइको अभाव नै हो ।
साबुनपानीले हात धुनेमात्रै बानीले पनि प्रत्येक तीनमध्ये एक बालबालिकालाई झाडापखाला र प्रत्येक पाँचमध्ये एक बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउने देखिन्छ ।
त्यस्तै समग्र जनसंख्यामा साबुनपानीले हात धुदामात्रै पनि ३० प्रतिशत झाडापखालाजन्य रोग र २० प्रतिशत श्वासप्रश्वासजन्य रोगबाट बच्न सकिने देखिएको छ ।












