–कुल प्रसाद काफ्ले
भरतपुर । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जीवलाल पुरी लगायतका उम्मेदवार रहेका छन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार ६६४ मत खसेको थियो । यहाँ एक लाख २४ हजार ६९५ मतदाता छन् । एक हजार १९८ मत बदर भएपछि ७७ हजार ४६६ मत सदर भएको थियो । धरौटी फिर्ता पाउनको लागि सात हजार ७४६ मत ल्याउनुपर्ने थियो ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ५४ हजार १७६ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएर धरौटी जोगाए ।
सदर मतको १० प्रतिशत मत नल्याउने १९ उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । ‘उम्मेदवारी कायम भएका २२ जना मध्ये ३ जनाको मात्रै धरौटी फिर्ता हुने भएको छ । धरौटी फिर्ताको लागि निवेदन दिनुपर्छ’, उनले भने ।
उम्मेदवारी दर्ता गराउने बेलामा पुरुष उम्मेदवारले १० हजार र महिला उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्छ । धरौटी जफत हुनेमा एक जना मात्रै महिला उम्मेदवार रहेकी थिइन् ।
यी हुन् धरौटी जफत भएका उम्मेदवार
१. जीवलाल पुरी (राप्रपा)–३७५ मत
२. राजेश अधिकारी (राष्ट्रिय उन्मुक्ति पार्टी)–७५ मत
३. ज्ञानेन्द्र प्रजा (नेपाल मजदुर किसान पार्टी)–४७ मत
४. जनकराज शर्मा (राष्ट्रिय जनमोर्चा)–११० मत
५. टेकबहादुर तामाङ (मंगोल नेशनल अर्गनाइजेशन)–२११
६. योग लाल श्रेष्ठ (राष्ट्रिय नागरिक पार्टी)–४१ मत
७. महानन्द जैसी (राष्ट्रिय जनमुक्ति पार्टी)–१८ मत
८. छत्र कुमार पाख्रिन (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल)–३८ मत
९. प्रेम बहादुर खड्का (जय जन्मभूमी पार्टी नेपाल)–७२ मत
१०. अम्बिका भट्ट–३७ मत
११. तारा प्रसाद पौडेल–२ मत
१२. भास्कर चन्द्र न्यौपाने–२१ मत
१३. मोजराज बगाले–१६ मत
१४. रामकृष्ण ओझा–९ मत
१५. लक्ष्मीमाया कोइराला–२१ मत
१६. विक्रम श्रेष्ठ–१३ मत
१७. सन्तोष थापा–३ मत
१८. सुमन श्रेष्ठ–१९ मत
१९. सुवास परियार–१२ मत












