चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले मतदान स्थलसम्म पुग्न सक्ने अवस्था नबनेको बताएका छन् । मतदान जारी रहेका बेला फेसबुक लाइभमा आएका लामिछानेले विपक्षी दलका कार्यकर्ताले योजनाबद्ध ढंगले झडपको स्थिती सिर्जना गराएको आरोप लगाए ।
मतदान स्थलमा पुग्दा रविका समर्थकले हुटिङ गरेपछि भरतपुर ११ को नयाँ किरण मावि लगायत केहि स्थलमा विपक्षी दलका कार्यकर्ताले विरोध गरेका छन् । नयाँ किरण माविमा मतदान नै स्थगित भएको छ । आफ्ना समर्थकलाई पनि संयमित भएर मतदान गर्न आग्रह गर्दै उनले मतदान स्थलमा अराजक गतिविधि हुन नदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
‘मतदान स्थलमा पुग्दा समर्थकले स्वागत गर्ने र हाई हाई गर्ने क्रम भएको थियो । हामीले नाराबाजी नगर्नु भनिरहेका थियौँ’, उनले भने, ‘आउनुहोस् स्वस्थ्य प्रतिस्पर्धा गरौँ । ढुक्कसँग मतदान गर्ने वातावरण बनाऔँ ।’ विपक्षी दलका कार्यकर्ताले होहल्ला गरेपनि समर्थकलाई शान्त भइदिन र मतपत्रको सुरक्षा गर्न उनले आग्रह गरेका छन् ।











