काठमाडौं । प्रकाश सपुतको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘सकम्बरी’ यतिबेला चर्चाको केन्द्रमा छ । कतिपयले यो गीत नारीद्वेषी भएको भन्दै विरोध गरिरहेका छन् भने कतिपयले सपुतको समर्थन गरिरहेका छन् ।
गीतले महिलालाई होच्याएको भन्दै सामाजिक सञ्जालमा कतिपयले विरोध गरिरहेका छन् । पारिजातद्वारा लिखित चर्चित उपन्यास शिरिषको फूलको शीर्ष पात्रको नामलाई लिएर सपुतले पात्र स्थापना गरेका छन् । तर सकम्बरीको चित्रण गीतमा उपयुक्त नभएको भन्ने आरोप पनि छ ।
यो आरोप–प्रत्यारोपका बीचमा रिलिज भएदेखि नै यो गीत नेपाल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । झण्डै ५७ लाख पटक यो गीत हेरिएको छ । सपुतले अघिल्लोपटक ल्याएको गीत ‘पीर’ले पनि चर्चा बटुलेको थियो । माओवादी पार्टीको कोणबाट त्यतिबेला सपुतको विरोध भएको थियो ।
नेपालमा चर्चा भइरहँदा गायक सपुत चाहिं सांगीतिक टुरका लागि यतिबेला अमेरिकामा छन् । प्रकाश सपुतले आफूले पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको र विम्बपरक ढंगले सबै क्षेत्रको यथार्थ प्रस्तुत गरेको बताएका छन् ।
विरोधको लागि विरोध गर्नेलाई केहि भन्न नसकिने भन्दै उनले महिलाहरु कमजोर नै हुन्छन् भनेर सोँच्नु गलत हो । ‘प्रकाश सपुतले चाहिँ महिलाहरुलाई कमजोर नै हुन्छन् र उसको चेतना त्यत्ति नै रहेछ भनेर जसले मेरो चेतना माथि प्रश्न गरिरहनुभएको छ, म उहाँहरुको कला चेतनालाई प्रतिप्रश्न गर्न चाहन्छु । तपाईंले राम्रोसँँग म्युजिक भिडियो हेर्नुभएको छ ?’, उनले प्रश्न गरे ।
उनले भनेका छन्, ‘कथालाई राम्रोसँग हेर्नुभएको छ ? पात्रहरुलाई राम्रोसँग हेर्नुभएको छ ? तिमीलाई झुम्काना कसले किन्दियो भनेर सोध्ने प्रकाश सपुतले हो कि पितृसत्तात्मक सोच राख्ने पात्रले हो ? जसले आफैले म तिम्रो सपना पूरा गर्दिन्छु भनेर लिएर आएको चेली समान युवतीलाई उसले जबर्जस्ती उपभोग गरेर उसैको परिवर्तन देख्न नसकेर उसको डाहले प्रतिप्रश्न गर्न थाल्छ, उसको चरित्रमाथि शंका गर्न थाल्छ, त्यो पात्रलाई हामीले केलाउने हो कि प्रकाश सपुतको चेतना र दृष्टिकोणलाई हामीले प्रश्न गर्ने हो ?’











