चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दुर्घटनामा परेकोबारे स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
लामिछानेले आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको प्रहरीबाट अनुसन्धान भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत चालकको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर स्थिर रहेको जानकारी दिएका छन् ।
चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत शम्भुको बारेमा आफूसँग भन्ने कुनै शब्दै नभएको लामिछानेले बताएका छन् । ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो। पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ’, लामिछानेले भने, ‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईँलाई भन्ने कुनै शब्दै छैन ।’
उनले आफू नेता भन्दा पहिले मानिस भएको उल्लेख गर्दै भनेका छन्, ‘ म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला।’
‘सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला’, उनले भनेका छन् ।
सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।












