चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उनले सबैभन्दा सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्ताबक सिता ज्ञवाली र समर्थक बिक्रम श्रेष्ठ रहेका छन् ।
उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।
यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए । लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।












