भरतपुर । उर्जामन्त्री एवम् नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले सत्ता गठबन्धनमा सम्मानजनक ढंगले नै सिट बाँटफाँट हुने बताएकी छन् । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भुसालले प्राविधिक कुरा गठबन्धनको बैठकले टुंग्याउने बताइन् ।
शुक्रबारसम्ममा सिट बाँटफाटको टुंगो लगाउने सत्ता गठबन्धनको तयारी थियो । तर शिर्ष नेताहरु जिल्ला बाहिर रहेकाले टुंगो नलागेको उनले बताइन् । सिट बाँटफाँटलाई टुंगोमा पु¥याउन सत्ता गठबन्धनको आज बेलुकी ४ बजे बैठक बस्दै छ ।
‘४ बजेबाट गठबन्धनको बैठक बस्छ । सिट बाँटफाँटको कुरा सम्भवत आज टुंगिन्छ’, उनले भनिन् । सत्ता गठबन्धनका दललाई सम्मानजनक तरिकाले नै सिट बाँटफाँट गरिने उनले बताइन् । ‘प्राविधिक कुरा वार्ताबाटै टुंगिन्छ । सबैलाई सम्मानजनक ढंगले सिट दिइन्छ । गठबन्धन भनेको लिनेदिने पनि हो’, उनले भनिन् ।
माओवादी केन्द्रले ६० सिट मागेको छ । तर सहमतिमा पुग्दा थोरै थपघट हुने सक्ने उनले बताइन् । हामीले ६० सिट भनेको हो । अन्तिममा गएर निश्कर्षमा पुग्नुपर्दा थोरै थपघट पनि हुन सक्छ । फरक प्रसंगमा बोल्दै मन्त्री भुसालले अहिले उद्योग कारखानाले मागे जति विजुली दिने अवस्थामा सरकार पुगेको बताइन् । अहिलेसम्म भारतलाई मात्रै विजुली विक्री भएकामा अब बंगलादेशलाई पनि बिजुली बेच्ने र बंगलादेशको साझेदारीमा विजुली उत्पादन गर्ने सहमति भएको उनले बताइन् ।
बंगलादेशले यो वर्ष ५० मेगावाट विजुली किन्ने भएको उनले बताइन् । ट्रान्समिसन लाइनको लागि बाटो दिन बंगलादेशले भारतलाई आग्रह पनि गरेको छ ।











