चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्ध्नको विरोध गरेर कांग्रेसलाई सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । प्रथम चरणको ‘जनताको साथमा कांग्रेस’ अभियानको समापन एवम् वीपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा सहभागी हुन चितवन आएका देउवाले गठबन्धनको अझै आवश्यकता रहेको बताए ।
पार्टीमा एकता हुनु आवश्यक छ, पार्टीलाई बलियो बनाउन जरुरी छ’, उनले भने, ‘त्यसकारण गठबन्धन आवश्यक छ, र गठगबन्धनलाई बचाउनु पनि आवश्यक छ ।’ कांग्रेस पार्टीलाई बलियो बनाउन पनि गठबन्धनको विरोध गर्न नहुने उनको भनाइ छ । गठबन्धनबाटै मंसिर ४ गतेको आम चुनावपछि कांग्रेस नै देशको ठूलो दल बन्ने उनको दाबी छ ।
२०७४ को आम निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको हैकम चलेको आरोप लगाउँदै उनले गठबन्धन गरिएपछि प्रदेशमा पनि कांग्रेसले मन्त्री पाएको बताए । प्रदेश र संघमा समेत प्रतिपक्षमा बसेको कांग्रेसले अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पाएको बताउँदै देउवाले गठबन्धनको फाइदा कांग्रेसले लिनुपर्ने बताए । गठबन्धन गर्दा कांग्रेसको प्रधानमन्त्री हुने भन्दै उनले गठबन्धन विना कांग्रेसले फाइदा लिन नसक्ने बताए ।











