–कुलप्रसाद काफ्ले
भरतपुर । राष्ट्रिय जनगणना २०७८ अनुसार चितवनको जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ । जसमध्ये पुरुष ३ लाख ५१ हजार ७८९ र महिला ३ लाख ६८ हजार ७० जना रहेका छन् । पुरुष भन्दा महिला १६ हजार २८१ ले बढी छन् ।
परिवारको संख्या एक लाख ७९ हजार ३४५ रहेको छ । पछिल्लो १० वर्षमा जिल्लामा एक लाख ३९ हजार ८७५ जनाले जनसंख्या बढेको देखिन्छ । २०६८ को जनगणना अनुसार चितवनमा ५ लाख ७९ हजार ९८४ जनसंख्या रहेको थियो ।
जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर २.०७ प्रतिशत रहेको छ । जिल्लाको जनघनत्व ३२५ व्यक्तिहरु प्रति वर्ग किमी छ । २०७८ को जनगणनाअनुसार जिल्लामा एक लाख ९१ हजार ३२२ जना अविवाहित छन् भने तीन लाख ८८ हजार ३३२ विवाहित र २७ हजार २७ जना एकल रहेका छन् । जिल्लामा अपांगता भएकाको जनसंख्या २.३ प्रतिशत रहेको छ ।
शुक्रबार सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार भरतपुरमा ३ लाख ६९ हजार २६८, इच्छाकामनामा २७ हजार ६४३, कालिकामा ५२ हजार १६४, खैरहनीमा ६७ हजार ३८५, माडीमा ३८ हजार २९५, राप्तीमा ६६ हजार ६१७ र रत्ननगरमा ८९ हजार ९०५ जना रहेका छन् ।
सबैभन्दा बढी जनसंख्या बृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा परेको छ । पहिलोमा भक्तपुर र दोस्रोमा रुपन्देही रहेको छ । चितवनको जनसंख्या बृद्धिदर २.०७ प्रतिशत रहेको छ । जिल्लामा २०६८ सालमा पाँच लाख ७९ हजार ९८४ जनसंख्या रहेको थियो भने २०७८ मा सात लाख १९ हजार ८५९ जनसंख्या पुगेको छ ।
सबैभन्दा बढी साक्षरता दर रहेको जिल्लाहरुमा चितवन पाँचौ स्थानमा छ । काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीपछि पाँचौँ स्थानमा रहेको चितवनमा ८३.६८ प्रतिशत साक्षरता दर छ । महिलाको ७८.७४ प्रतिशत र पुरुषको ८८.९१ प्रतिशत रहेको छ ।
चितवनका एक लाख ७९ हजार १६७ परिवारमध्ये एक लाख ४३ हजार ८२८ परिवार आफ्नै घरमा बस्दै आएका छन् भने ३२ हजार ३२८ परिवार भाडाको घरमा बस्दै आएका छन् । त्यस्तै, एक हजार ७२५ परिवार संस्थागत आवास गृहमा बसेका छन् भने एक हजार २८६ परिवार अन्य स्थानमा बसेका छन् ।












