–कुलप्रसाद काफ्ले
भरतपुर । भरतपुरस्थित शिवशिखर सहकारीबाट पीडित भएका बचतकर्ताहरुले आफ्नो पैसा दिलाइदिन माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई गुहारेका छन् ।
जिल्ला प्रशासन कार्यालय पुगेका शिवशिखरका करिब ५० जना बचतकर्ताले आफ्नो बचत रकम निकाल्न नपाएको गुनासो गरे । उनीहरुले आफुले पाउनुपर्ने रकम उल्लेख गरेर सिडियोलाई समेत बुझाएका छन् ।
आर्थिक रुपमा टाट पल्टिएको शिवशिखरका बचतकर्ताले आफ्नो खातामा भएको लाखौँ रुपैयाँ रकम निकाल्न पाएका छैनन् । सहकारी सञ्चालक र कर्मचारीहरु कार्यालय बन्द गरेर फरार छन् । सहकारीको शेयर सदस्य समेत रहेका झपिन्द्र प्रसाद उपाध्यायले ७ महिनादेखि आफ्नो पैसा निकाल्न नपाएको गुनासो गरे ।
पाँच वर्षमा दोब्बर हुने बताइएपछि उनले पाँच वर्षअघि नातिनीको नाममा ५० हजार रुपैयाँ अवधि खातामा जम्मा गरेका थिए । रकम जम्मा गरेको पाँच वर्ष पुगेर १० हजार रुपैयाँ व्याज निकालेका उनले दोब्बर भएको रकम एक लाख रुपैयाँ भने निकाल्न पाएनन् । पाँच वर्षे अवधि खातामा उनले अर्काे तीन लाख रुपैयाँ पनि जम्मा गरेको बताए ।
‘पाँच वर्षमा दोब्बर हुने भनेर तीन लाख रुपैयाँ पनि राखेको थिएँ । दुई वर्ष पुरा भयो, अब तीन वर्ष बाँकी थियो । मैले ५५ हजार रुपैयाँ शेयर पनि हालेको छु’, उनी भन्छन्, ‘मेरो यो सहकारीमा जम्मा साढे पाँच लाख छ । सुधार हुन्छ भन्दै पैसा अड्काएर राखेको छ ।’
दैनिक बचत र अवधि खातामा रकम जम्मा गर्दै आएकी जमुना सुनारले सहकारी नै टाट पल्टिएको हल्ला चलेपछि फागुनदेखि बचत गर्न छाडिन् । सहकारीबाट पिडित भएका बचतकर्ताहरु प्रशासन कार्यालयमा भेला भएको जानकारी पाएपछि उनी आफ्नो नाम र पाउनुपर्ने रकम टिपाउन त्यहाँ पुगेकी थिइन् । ‘आफ्नो खातामा भएको पैसा लेखेर हस्ताक्षर गरेपछि पाइन्छ रे भनेर यहाँ आएको’, प्रशासन कार्यालयमा भेटिएकी उनले भनिन् ।
एक वर्षे अवधि खातामा चार लाख रुपैयाँ जम्मा गरेकी भरतपुर–४ की कल्पना आचार्य पनि आफ्नो बचत फिर्ता पाउने आशमा प्रशासन कार्यालय पुगेकी थिइन् । आफ्नौ दैनिक खातामा जम्मा भएको रकम निकाल्न नपाएपछि मंसिरदेखि नै बचत गर्न छाडिदिएको उनले बताइन् । ‘पैसा निकाल्न लिमिट गरिदिएपछि दुई चोटि गरेर ३५ हजार निकालेँ । त्यसपछि फेरि १० हजार निकाल्न भनेर माघमा चेक दिएर आएको अहिलेसम्म पाइएन’, उनले भने ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक सिडिओ चिरञ्जिवी शर्माले सहकारीका सञ्चालक र कर्मचारीको खोजी गरि पक्राउ गर्न प्रहरीलाई निर्देशन भएको बताए । ‘सहकारीका सञ्चालक र कर्मचारीलाई तदारुकताका साथ खोज्ने भनेर सिडिओसापले एसपी कार्यालयमा लेखिपठाउनु भएको छ’, उनले भने । सञ्चालक र कर्मचारी फरार रहेको उनले बताए ।












