–कुलप्रसाद काफ्ले
माडी । माडी नगरपालिकामा पहिलो पटक साढे सात विघा जमिनमा सूर्यमुखीको व्यवसायीक खेती गरिएको छ । माडी–१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेलसहितको टिमले गत वर्षदेखि पाँच बिघामा सूर्यमुखीको सामुहिक खेती गर्न थालेको हो । यस वर्ष पूर्व वडाध्यक्ष पौडेलले माडी–२ पर्साफाँटमा आफ्नै साढे दुई बिघा जग्गामा पनि सूर्यमुखी लगाएका छन् ।
उत्पादन, प्रशोधन र बजारिकरणमा बिचौलियालाई प्रवेश गर्न नदिने गरी सूर्यमुखीको खेती गरिएको पौडेल बताउँछन् । प्राङ्गारिक मलको प्रयोग गरि गरिएको खेती राम्रोसँग सप्रिएको छ । गत वर्ष पाँच बिघा बाँझो जग्गा पाँच वर्षको लागि भाडामा लिएर माडी–१ लक्ष्मुनियामा सामुहिक खेती गरिएको हो । जग्गाको यस वर्षदेखि प्रति विघा २५ हजार रुपैयाँ बुझाउनुपर्ने उनको भनाइ छ ।
सामुहिक खेतीमा सूर्यमुखी महिला किसान समूह र काठमाडौँको हिमालय अर्गानिक गार्डेनको पनि लगानी रहेको छ । सामुहिक आठ लाख रुपैयाँ लगानीमा सूर्यमुखीको खेती सुरु गरिएको हो । गार्डेन सञ्चालक अनिल दाहाल र विमला दाहाल उनका साथी हुन् । उनीहरुले सूर्यमुखीपछि धान खेती पनि गर्ने गरेका छन् ।
‘युवालाई श्रमसँग जोड्ने हाम्रो संस्कार नै छैन । सरकारको मात्रै मुख ताकेर भएन । हामी आफैबाट गरौँ न त भनेर साथीलाई पनि यहाँ जोडेर गरिएको हो । यसमा महिला किसान समूह पनि मिसिएर गरेका हौँ’, पौडेलले भने, ‘साथीहरुले विशेषत काठमाडौँबाट मार्केटिङको काम गर्नुभएको छ । यहाँ उत्पादनमा पनि जोडिनु भएको छ ।’
आफैले उत्पादन गरेको प्राङ्गारिक मल खेतीमा प्रयोग गरिएको उनी बताउँछन् । पहिलो वर्षभन्दा पछिको वर्षहरुमा खर्चिनुपर्ने रकम कम हुँदै जाने उनले बताए । ‘पहिलो खेती गरिसकेपछि खेतको सतह मिलिसकेको हुन्छ । फेरी मिलाइरहन परेन । पराल बेचेर गोबर मल ल्याएका हुन्छौँ । सूर्यमुखीबाट तेल पेलेपछि त्यसको पिना पनि यहिँ आउँछ । यस हिसावले पछिलो वर्षमा जति दोस्रो वर्षमा खर्च हुँदैन’, उनले भने ।
पहिलो वर्ष गरेको सूर्यमुखी खेतीबाट खर्च भए बराबरको आम्दानी भएको र धानबाट मुनाफा आएको उनले बताए । ‘प्रकृतिले नै विनाश ग¥यो भने त कसैको केहि लागेन । अन्यथा निराशै भएर हिँड्नुपर्ने अवस्था छैन’, उनी भन्छन्, ‘पुरानै तरिकाले लगाएर पनि भएन ।’
अब माडीमै सूर्यमुखीको तेल ब्राण्डिङसहित प्रशोधन गरिँदै छ । गत वर्ष काठमाडौँमा प्रशोधन गरिएको थियो । तेल प्रशोधनका लागि प्रदेश सरकारले माडी नगरपालिकामार्फत दिएको २० लाख रुपैयाँमा किसानले २० लाख रुपैयाँ थपेर तेल मिल र भण्डारण स्थापना गर्न लागेको उनले बताए । आगामी बैशाख भित्र मिल स्थापना हुने उनको विश्वास छ ।
सरकारले वास्तविक किसानको पहिचान गरेर कृषि अनुदान दिएमा किसानलाई समस्या नहुने उनी बताउँछन् । ‘हामिले त अहिलेसम्म अनुदान लिएका छैनौँ । अब बनाउने मिलको लागि भने प्रदेश सरकारको २० लाख लिन्छौँ ।’
गत वर्ष १३ सय लिटर तेल र ३०० मुरी धान उत्पादन भएको थियो । तेल प्रति लिटर १२ सय रुपैयाँमा खुद्रा विक्री भएको उनले जानकारी दिए । त्यो तेल काठमाडौँको आउटलेट मार्फत विक्री गरिएको थियो । यो वर्ष पाँच बिघामा कम्तिमा दुई हजार लिटर तेल उत्पादन हुने अपेक्षा गरिएको छ । यस पटक भाटभटेनीलगायत ठूला सुपर मार्केटबाट पनि विक्री हुने उनको भनाइ छ ।
सूर्यमुखीको खेती गर्दा एउटा ड्याङबाट अर्काे ड्याङ बीचको दुरी ७० सेन्टिमिटर हुनुपर्छ । सूर्यमुखीको विरुवा २५ सेन्टिमिटरको फरकमा लगाइएको हुन्छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धाका लागि खेतीमा प्रविधिको प्रयोग गरी लागत मूल्य घटाउन सकिन्छ । अहिले खेतमा रहेको सूर्यमुखी चैतको १० गतेभित्र टिप्ने काम हुने उनले बताए । सूर्यमुखी विरुवाको बीचको खाली भागमा मकै लगाउने तयारी गरिएको छ ।
‘यो वर्ष मैले मात्रै छुट्टै साढे दुई बिघामा गरेको छु । आउँदो वर्ष १० बिघामा गर्ने योजना छ’, उनले भने, ‘हामिले विदेशमा गएर मेहनत गर्छाैँ । अब नेपालमै गरौँ भन्ने सन्देश दिन खोजिएको हो । प्राविधिहरुले पनि यो खेतीलाई ९० प्रतिशत सफल भइसकेको भन्नुभएको छ ।’ उनले यस वर्ष चार लाख रुपैयाँ लगानी गरेर व्यक्तिगत व्यवसायीक खेती गरेका हुन् । गत वर्ष उत्पादन गरेको जापानिज कालोमासि धान प्रति किलो ६०० रुपैयाँमा माग हुँदा पनि पु¥याउन नसकेको उनले बताए ।
‘हामीले विचौलियालाई खेल्नै दिदैनौँ । गत वर्ष पाँच बिघामा गरिएको हो । हामीले एक खेती सूर्यमुखी र अर्काे खेती धान गर्ने गरेका छौँ’, उनले भने, ‘धान चाँहि विभिन्न जातको लगाएका थियौँ । माग अनुसार धान र तेल पु¥याउनै सकेनौँ ।’ जर्मनी, दुबई र अष्ट्रेलियामा तेल र धानको माग भइरहेको उनले बताए ।
माडीलाई पूर्ण प्राङ्गारिक खेती गर्ने नगरपालिकाको रुपमा स्थापित गर्ने योजना रहेको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् । ‘माडीलाई कृषि पर्यटनको रुपमा विकास गर्ने त हाम्रो नीति नै रहेको छ’, उनी भन्छिन्, ‘कृषि खेतीको प्रबद्र्धनका लागि हामिले किसानलाई आर्थिक र प्राविधिक दुवै सहयोग गरेका छौँ ।
माडी नगरपालिका कृषि शाखा प्रमुख किरण उपाध्याय (अनाम)ले माडीमा सूर्यमुखीको राम्रो सम्भावना रहेको बताए । ‘माडीमा प्राङ्गारिक सूर्यमुखीको सम्भावना राम्रो छ । आगामी वर्ष यसको क्षेत्रफल विस्तार गर्ने योजनामा छौँ’, उनी भन्छन्, ‘सूर्यमुखी खेती राम्रो भएपछि आन्तरिक पर्यटकको आकर्षण पनि बढेको छ ।’
सूर्यमुखी खेती हेर्न, फोटो खिच्न र टिकटक बनाउनेको संख्या बढिरहेको छ । आफ्नो खेतमा किसान आफैले सूर्यमुखी खेती गरेकाले त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको उनले बताए । ‘जैविक विषादी मात्रै प्रयोग गरेपछि सूर्यमुखीमा रोगको प्रकोप हुँदैन’, उनले भने ।
विभिन्न देशबाट अर्गानिक उत्पादनको माग हुने गरेको छ । त्यसलाई नै लक्षित गरी प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक सूर्यमुखीको उत्पादन गरिएको हो । यसको बजार सुरक्षित रहेको उनी बताउँछन् । नेपालमा मात्रै नभएर विदेशबाट पनि यसको माग हुने गरेको छ । माडीमा अन्य युवाले पनि सूर्यमुखीको खेती गर्ने तयारीमा लागेका छन् ।