चितवन । भरतपुर–४ लङ्कुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा बुधबार मन्दिर संचालक समितिका पूर्व उपाध्यक्ष एवम् नव मन्दिर निर्माण समितिका सहसंयोजक सावित्री कँडेलको अभिनन्दन गरिएको छ।
मन्दिर संचालनमा गरेको योगदानको प्रशंसा गर्दै उनलाई अभिनन्दन पत्र एवम् दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो। २०७७ मा भएको महायज्ञमा उनकै नेतृत्वमा नव मन्दिर संचालन अक्षयकोष स्थापना अभियान चलाइएको थियो। महायज्ञको जारी दोस्रो चरणमा सुप्रसिद्ध कथावाचक ईश्वर कृष्ण महाराजले प्रवचन गरिरहरेका छन् ।
१५ दिने महायज्ञ बाह्रौं दिन चलिरहँदा अहिलेसम्म नगद र बोलकबोल गरी झन्डै २ करोड ५५ लाख रुपैयाँ रकम संकलन भएको यज्ञ सम्पादन सचिव रामचन्द्र सापकोटाले जानकारी दिए ।












