चितवन । चितवनको भरतपुरस्थित लक्ष्मि माध्यमिक विद्यालयले एक शिक्षकको विवाह परेकै कारण विद्यालय विदा दिएको छ। विद्यालयका एकजना शिक्षकको विवाह भएपछि विद्यालय नै विदा दिइएको अभिभावकहरुले बताएका हुन्। हिजो विद्यालयमा वर्षभरमा दिन पाइने ५ दिनको विदा अन्तर्गतबाट आज विदा दिइएको भनेर विद्यार्थीहरुलाई जानकारी दिएको विद्यार्थीहरु बताउछन्। तर किन सट्टे विदादिइयो भन्ने विषय उनिहरुलाई थाहा भने छैन।
विद्यालयका अभिभावक कृष्ण चापागाईंले भने आफ्नो छोरा विद्यालय आउदा विद्यालय बन्द भएर फर्किएको बताए। किन बन्द भएको रैछ भनेर बुझ्दा शिक्षकको विवाह भएर विद्यालय नै बन्द भएको थाहा पाएको उनले बताएका हुन्। यस्तो गर्न त नपाइने हैन र ? भन्दै उनले गुनासो गरेका छन्।
भरतपुर महानगरपालिका–४ को वडाअध्यक्ष अर्पण पोखरेलले भने आफुलाई महानगरबाट फोन आएपछि मात्रै विद्यालय बन्द भएको जानकारी पाएको बताए। ‘विद्यालय बन्द रहेछ । व्यवस्थापन समितिको अध्यक्षसँग बुझ्दा सबै शिक्षकलाई आज एकै पटक विदा चाहिएकोले सट्टे बिदा दिएको रहेछ’, उनले भने । उनले अगाडि नै थाहा पाएको भए विद्यालय बन्द गर्न नदिने बताउदै अब आउने दिनहरुमा यस्तो क्रियाकलाप आफ्नो वडामा हुन नदिने बताए।
भरतपुर महानगरपालिकाको शैक्षिक शाखाका अधिकृत तथा विद्यालय निरिक्षक ऋषिराम शर्माले महानगरमा विद्यालय बन्द छ भनेर अभिभावकहरुले फोन गरेपछि महानगरबाट अनुगमन गएको बताए। महानगरबाट अनुगमन जाँदा विद्यालय बन्द भएको पाएपछि प्रधानाध्यापकलाई फोन गर्दा व्यवस्थापन समितिको अध्यक्षसँग परामर्श गरेर बन्द गरेको भने पनि लिखित निर्णय भएर महानगरलाई जानकारी नदिएसम्म विद्यालय बन्द गर्न नपाउने जानकारी दिए ।












