चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोईरालाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतीको कोशिस गरीने बताएका छन् । आज यहाँ पत्रकारहरुसंग कुरा गर्दै उनले राष्ट्रिय सहमती नभए राष्ट्रपति निर्वाचनमा मतदान हुने बताए । कुनै दलको पनि बहुमत नपुग्ने भएकाले राष्ट्रिय सहमतीको प्रयास गरिने उनको भनाई छ ।
राष्ट्रपतिको निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी दिने र आफ्नो उम्मेदवारलाई बिजयी गराउने उनले दाबी गरे । राष्ट्रपति भनेको संबिधानको रक्षाका लागि भएको भन्दै उनले संबिधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए । उनले भने, “राष्ट्रपतिमा उम्मेदवारी दिन्छौ र सरकारमा पनि जाँदैनौ ।”
हरेक दललाई निर्वाचनमा जानका लागि कुनै दलसंग सहमती गरेर जानुपर्ने बाध्यता रहेको भन्दै उनले यस बिषयमा अन्य दलहरुसंग समेत कुरा भईरहेको बताए । उनले थपे, “माओवादी, एमाले कसको समर्थन हुन्छ कसरी भन्ने ? तर समर्थन कसैको नलिईकन त जित्दैनौ ।” संसद विघटन देखि संबिधानमा नभएका प्रावधानमा टेकेर गरिने कामहरुलाई रोक्न काङ्ग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको उनले बताए । उनले भने, “राष्ट्रपति संबिधान भन्दा माथि हुनु हुँदैन ।”
फरक प्रसंगमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र हुन नसक्ने बताए । लोकतन्त्र बिना विकास सम्भव नभएको उनको भनाई थियो । प्रेस स्वतन्त्रता काङ्ग्रेसका लागि महत्वपूर्ण अंग भएको उनले बताए । उनले भने “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन । राजनीतिमा शहनशिलता हुनु पर्छ ।” सञ्चार माध्यमको काम खवरदारी गर्ने भएको पनि उनले बताए ।












