काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने बताएकी छन् ।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको जानकारी दिइन्।
उनले आमसञ्चार क्षेत्रका लागि बनेका अधिकांश कानुनहरु पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेकोले तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गरेकी छन् ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन्। उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु भनेको राज्यको सबलीकरण हुनुसरह रहेको बताइन्।
उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा व्यक्त गरिन्।
उनले भनिन्,‘आमसञ्चार क्षेत्रका विज्ञहरुको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु। सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरु अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौं। मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानून र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरु सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ। आमसञ्चारको क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो। यो क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुने राज्यको सबलीकरण हुनु हो। देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारीता अभिन्नअंगका रुपले जोडिएको छ। राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव थिएन। राजनीतिक परिवर्तनमा काँधमा काँध मिलाएर मिडिया सकारात्मक नहुँदा के हुन्छ र नकारात्मक रुपमा रोल गर्दा कस्तो असर पर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो। त्यसैले मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्छ। नकारात्मक विषयमा आलोचनात्मक रुपमा लेख्ने र सकारात्मक विषयलाई सकारात्मक भएर लेख्ने विषयमा सहकार्य गरेर अगाडि बढ्दा सरकारकालाई कुनै बेफाइदा गर्दैन। आलोचनाले कसैलाई पनि बेफाइदा गर्दैन।’
उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन्। उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताइन्।











