भरतपुर । धर्मचोकस्थित वैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठानम् (गुरुकुलम्)को बृहत अक्षयकोष स्थापनार्थ १५ दिने लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव सुरु भएको छ । महायज्ञको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले दीप प्रज्वलन गरि उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री थपलियाले प्रदेश सरकारबाट गुरुकुलको विकासका लागि बजेट छुट्याउन आफुले पहल गर्ने बताए । कार्यक्रममा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका प्राध्यापक हरिप्रसाद अधिकारी, कथावाचिका यशोदा माता, नेकपा एमाले पोलिटब्यूरो सदस्य देवीप्रसाद ज्ञवाली, बागमती प्रदेश सभा सदस्य उत्तम जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसाल, सल्लाहकार कलाधर अर्याललगायतले बोलेका थिए ।
महायज्ञको उद्घाटअघि पन्चे बाजा, कलश, भजन–कीर्तनसहित महायज्ञस्थलबाट निक्लेको शोभायात्राले धर्मचोक, अद्वैतचोक, धारापानीचोक, वैकुण्ठचोक परिक्रमा गरी पुनः महायज्ञस्थलमा पुगी टुंगिएको महायज्ञ सम्पादन मूल समितिका संयोजक तुलसीराम सापकोटाले बताए । महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म कथावाचक ईश्वरकृष्ण महाराजले प्रवचन गर्ने आयोजकले जनाएको छ ।












