धनगढी । कैलालीको चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिएको घटनाको सत्यतथ्य पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ५ सदस्यीय समिति गठन गरेको हो। गत जेठ २९ गते गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे क्षेत्रको सामुदायिक वनमा अतिक्रमण हटाउने अभियान चलाइएको थियो।
सोही क्रममा टेम्पो भीरबाट पल्टिएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भएपछि चौतर्फी प्रश्न उठेपछि मन्त्रालयले यो कदम चालेको हो।
वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित उक्त समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न समितिलाई ७ दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।












