रवि खरेल
आदरणीय अभिभावकज्यू,
आफ्नो जीवनका हरेक कठिनाइ भुलेर सन्तानको मुस्कानमा आफ्नो संसार देख्ने प्रत्येक आमाबुबाको चाहना हुन्छ— मेरो सन्तान असल र सफल बनोस्।
तर, आजको यो तीव्र डिजिटल युगमा हाम्रा छोराछोरी सुविधासँगै अनेकौँ अदृश्य चुनौतीहरूको घेरामा छन्। सामाजिक सञ्जालको गलत प्रयोग र मोबाइलको स्क्रिनभित्र लुकेका विकृतिहरूले हाम्रा भविष्यका सहाराहरूलाई कुलतको अँध्यारोतर्फ धकेलिरहेको त छैन? यो आज हामीले सोच्नैपर्ने विषय बनेको छ।
अहिले कलिला विद्यार्थीदेखि वयस्कसम्मलाई ‘डिजिटल चुरोट’ (भेप) र विभिन्न आधुनिक दुर्व्यसनले निकै आकर्षित गरिरहेको छ। फ्लेभरको आवरणमा आउने यस्ता विषालु पदार्थहरू युवापुस्तालाई कडा लागुऔषधको दलदलमा फसाउने पहिलो खुड्किलो बनिरहेका छन्। यी सामग्रीहरू महँगा र चार्ज गर्नुपर्ने हुनाले, छोराछोरीले यसलाई आफ्नै कोठाका सुरक्षित कुनाहरूमा लुकाएर राख्ने गर्दछन्।
हाम्रो सानो प्रयास, सन्तानको सुरक्षित भविष्य:
यो उनीहरूमाथिको शङ्का होइन, बरु एउटा सजग अभिभावकीय प्रेम र पहरेदारी हो। त्यसैले यहाँहरू समक्ष विनम्र आग्रह छ:
डिजिटल निगरानी: दैनिक केही समय छुट्ट्याएर आफ्ना छोराछोरीको मोबाइल र सामाजिक सञ्जालका गतिविधिहरू नियाल्ने गर्नुहोस्।
कोठाको स्नेहपूर्ण निरीक्षण:महिनाको कम्तीमा एक पटक, उनीहरू विद्यालय गएको समयमा, थाहा नपाई उनीहरूको कोठाको सचेत निरीक्षण गरिदिनुहोस्।
हाम्रो आजको सानो सतर्कताले उनीहरूको भोलिको ठूलो दुर्घटनालाई टार्न सक्छ। आउनुहोस्, आफ्ना सन्तानको सुन्दर भविष्य रक्षाका लागि हामी आजैदेखि थप सजग बनौँ।
धन्यवाद।











