काठमाडौँ । नेकपा एमाले चितवनका नेता एवम् संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले नेपाल जस्तो सानो देशमा संघीयता आवश्यक नभएको बताएका छन्।
आइतवार नेपाल कानून समाजले संविधान संशोधन सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले उक्त विषयमा गम्भीर छलफल गर्न आवश्यक रहेको तर्क गरे।
नेता पोखरेलले संघीयता जनताको सुखको साध्य नभएको पुष्टि भएको उल्लेख गर्दै संविधान संशोधन गर्न उचित हुने धारणा राखे। उनले प्रदेशसभा सदस्य संख्या घटाउनुपर्ने प्रस्ताव गरे। संघको मन्त्रिपरिषद् घटाएजस्तै प्रदेश पनि घटाउनुपर्ने उनको भनाइ थियो।
नेता पोखरेलले न्यायाधीश नियुक्तिको विषयमा पनि गम्भीर छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताए।
पोखरेलले भने, ‘नेपाल जस्तो सानो देश संघीयता साध्य होइन रहेछ। यो विषयमा गम्भीर छलफल आवश्यक छ। प्रदेश सांसद र मन्त्री पनि घटाउनुपर्छ। न्यायाधीश नियुक्तिको विषयमा आममानिस सन्तुष्ट हुने अवस्था छैन। यसमा पनि विचार गर्नुपर्छ।’
नेता पोखरेलले संवैधानिक बेन्च आवश्यक नभएको पनि बताए।










