काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालको राजनीतिक अवस्थाले पार्टी कमजोर देखिए पनि एमाले समाप्त नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमार्फत कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको बताउदै पार्टीलाई सही नीति, संगठन र नेतृत्वमार्फत पुनः उठाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
भट्टराईले निर्वाचन परिणामलाई स्वीकार गर्दै जनताले आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । उनले यो वर्तमान यथार्थ भएको उल्लेख गर्दै पार्टीले आफूभित्र व्यापक रूपान्तरण गरी जनसमर्थन पुनः प्राप्त गर्ने बाटो रोज्नुपर्ने बताएका छन् ।
उनले भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसबारे पुनर्विचार गर्न आफूहरूले नेतृत्वलाई विभिन्न बैठक, भेटघाट र महाधिवेशनमार्फत आग्रह गरेको तर त्यसमा सफलता नपाएको बताएका छन् । अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ ।
भट्टराईले पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र नभई जिम्मेवारीमा रहेका विभिन्न तहका समिति र नेताहरू सबैको भूमिका रहेको बताए। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय समिति र केन्द्रीय सचिवालयले यसको जिम्मेवारी लिनुपर्ने उनले उल्लेख गरेका छन् ।
उनले सफलता वा असफलतापछि हुने जवाफदेहिता कसरी लागू गर्ने भन्ने विषयमा पार्टीभित्र गम्भीर बहस आवश्यक रहेको बताएका छन् । पूर्वाग्रह, भावना र षड्यन्त्रको सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्नुपर्ने उनको धारणा छ । भट्टराईले पार्टीको असफलता सिंगो संगठनको असफलता भएको भन्दै सामूहिक बुद्धि र पहलबाट मात्र अहिलेको अवस्था बदल्न सकिने बताए । उनले नेता-कार्यकर्ता सबैलाई पुराना समूहगत घेराबाट बाहिर निस्केर खुला रूपमा बहसमा सहभागी हुन आह्वान गरेका छन् । उनले पार्टी, जनसंगठन र विदेशमा रहेका संगठनका सदस्यहरूलाई पनि आफ्ना सुझाव नेतृत्वसम्म पठाउन आग्रह गरेका छन् ।
भट्टराईले एमालेका कार्यकर्तालाई धैर्य र संयमतासाथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा अघि बढ्न आग्रह गरेका छन् । साथै एमालेबारे सुझाव, आलोचना र टिप्पणी पठाउन बुद्धिजीवी र सर्वसाधारणलाई पनि अपिल गरेका छन् ।
उनले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा आजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।











