चितवन । निर्वाचनको अघिल्लो दिन चितवनका विभिन्न मतदानस्थलको अनुगमन पछि निर्वाचन पर्यवेक्षण समिति (नियोक) चितवनले निर्वाचनको अघिल्लो दिनको वातावरण शान्त, सुरक्षित र व्यवस्थित भएको निष्कर्ष निकालेको छ ।
समितिका जिल्ला सचिव दीपकबाबु श्रेष्ठले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको मतदान स्थलहरुको अनुगमन गर्दा सबै निकायले आफ्नो जिम्मेवारी सक्रियताका साथ निर्वाह गरेको पाइएको जनाएका छन् ।
नियोकसहित विभिन्न निर्वाचनको अनुगमन गर्ने अनुमति प्राप्त गरेका संघ संस्थाले आज चितवनका विभिन्न मतदान केन्द्रहरुको अनुगमन गरेको थियो । जसका क्रममा मतदान केन्द्रहरूमा आवश्यक सामग्री (मतपेटिका, मतपत्र, मतदाता नामावली, स्वस्तिक छाप आदि) पुगेको, केन्द्रहरूमा सूचना पाटी र दिशा निर्देशन स्पष्ट रूपमा राखिएको, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि सहज पहुँचको व्यवस्था अधिकांश स्थानमा व्यवस्थापन गरिएको पाइएको जनाइएको छ ।
त्यसैगरि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन केन्द्रमा खटिएका निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नेपली सेनाका सुरक्षाकर्मीहरू परिचालन भइसकेका पाइएको अनुगमनका क्रममा पाइएको जनाइएको छ । अनुगमनका क्रममा संवेदनशील केन्द्रहरूमा विशेष निगरानी व्यवस्था गरिएको तथा समग्र वातावरण शान्त र व्यवस्थित पाइएको सचिव श्रेष्ठले बताए ।
केही सामाजिक सञ्जालका पोर्टलहरुबाट निर्वाचन आचार संहिता विरुद्धका पोष्टहरु गरिएको पाइएपनि निर्वाचन स्थल वरपर भने राजनीतिक दलहरूले प्रचार–प्रसार रोकेका, केही स्थानमा साना पोस्टर/पम्प्लेट बाँकी देखिए पनि हटाउने कार्य भइरहेको अनुगमनका क्रममा पाइएको जनाइएको छ ।











