बारा । जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो ।
‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घटेको देखिन्छ’, जडीबुटी उत्पादन तथा प्रतिशोधन केन्द्र शाखा कार्यालय तामागढीका प्रमुख बखत बहादुर साउदले भने, ‘वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्नुको मुख्य कारण किसानले लगाएको जडीबुटीले उचित मूल्य नपाउनु नै हो ।’
तामागढीमा लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, बाबरी तथा क्यामोमाईल तथा मसला तेललगायत जडीबुटीको खेती हुँदै आएको साउद बताउँछन् । ‘शाखा कार्यालय तामागढीले वार्षिक रूपमा ९ टन जडीबुटी उत्पादन गर्ने गरेको छ । केन्द्रीय कार्यालयले किसानलाई मलखाद्य सहयोग, ढुवानी खर्च, खरिद दर वृद्धि, अनुगमन तथा सहयोग गरेर १७ हजार ६ सय ५० किलो जडीबुटी उत्पादन गर्ने लक्ष्य लिएको थियो,’ उनले भने ।
तामागढी शाखाले आर्थिक वर्ष २०७९/८० मा लेमनग्रास तीन हजार किलो, सिट्रोनेला एक हजार सात सय किलो, पामारोजा एक हजार छ सय २० किलो, मेन्था नौ हजार किलो, बाबरी तीन सय ८० किलो, क्यामोमाईल चार सय ५० किलो, मसलाको तेल एक हजार पाँच सय किलो तथा तुलसी पाँच किलो उत्पादन गर्ने लक्ष्य लिएको थियो ।
शाखाले आर्थिक वर्ष २०७४/७५ मा लेमनग्रास तीन हजार एक सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार तीन सय ९९ किलो उत्पादन गरेको थियो । त्यसैगरी सिट्रोनेला तीन हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा दुई हजार दुई सय सात किलो मात्र उत्पादन गरेको थियो ।
त्यस्तै पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय ३३ किलो मात्र उत्पादन गरेको थियो ।
मेन्था पाँच हजार केजीको लक्ष्यमा तीन हजार तीन सय ६४ किलो, बाबरी पचास किलो लक्ष्यमा ३५ किलो, क्यामोमाइल चार सय ५० किलो लक्ष्यमा चार सय, बेरासी किलो, मसला तेल सात सय लक्ष्यमा छ सय ५९ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।
त्यसैगरी केन्द्रले २०७५/७६ मा लेमनग्रास चार हजार किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा तीन हजार ८१ किलो उत्पादन गरेको थियो । सिट्रोनेला दुई हजार पाँच सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा नौ सय ४४ किलो मात्र उत्पादन गर्न सकेको थियो । पामारोजा एक हजार सात सय किलो उत्पादन गर्ने लक्ष्य लिएकोमा एक हजार चार सय २७ किलो मात्र उत्पादन गरेको हो ।
त्यस्तै मेन्था छ हजार लक्ष्यमा तीन हजार छ सय ५४ किलो, बाबरी ५० किलो लक्ष्यमा २० किलो, क्यामोमाइल चार सय ५० किलो लक्ष्यमा छ सय त्याइस किलो, मसला तेल सात सय लक्ष्यमा पाँच सय ६७ किलो उत्पादन गरेको तथ्यांक रहेको छ ।











