चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा उमेदवारी दिने युवा व्यवसायी सिरीष पन्तले घोषणा गरेका छन् । संघको ५९औँ साधारण सभा तथा अधिवेशन आगामी पुसको तेस्रो सातातिर हुँदै छ । गएको अधिवेशनमा सुमनकुमार श्रेष्ठसँग अध्यक्षमा पराजित भएका पन्त यसपटक सशक्त युवा व्यवसायीको प्यानलसहित चुनाव लड्दै छन् ।
आफु निर्वाचित भएपछि संघमा महिला व्यवसायी, युवा उद्यमी र सबै तहका व्यवसायीलाई अवसरका ढोका खुला गरिने उनले बताए । संघले आयोजना गर्ने चितवन महोत्सवको गौरव र गरिमा क्रमशः ओझेल पर्न थालेको अनुभूति व्यवसायिक समुदायले गर्न थालेको भन्दै उनले महोत्सव आफ्नो मौलिक उद्देश्य, उद्योग–व्यापार र स्थानीय उत्पादनको प्रवद्र्धनबाट बिस्तारै टाढिँदै गएको उनले बताए ।
आफ्नो उमेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई सबै व्यवसायीको साझा आवाज भएको बताउँदै उनले थकित बजारको पीडा सुन्न र समाधान खोज्न आफुमा साहस रहेको बताए । ‘म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी नेतृत्वको लागि व्यवसायीको विश्वास माग्न चाहन्छु’, उनले भने ।
महोत्सवका पछिल्ला संस्करणहरुमा पारदर्शिता अभाव र व्यक्तिगत स्वार्थ हावी हुन थालेको भन्दै उनले भने, ‘कुनै समय चितवनको व्यापारिक आत्मविश्वास झल्काउने महोत्सव आज विश्वास र विश्वसनीयता दुवै गुमाउँदै गएको धारणा प्रबल बन्दै गएको छ ।’ व्यवसायीको मतदानले युवा नेतृत्वलाई सशक्त बनाउँदै संघलाई पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरे । ४२ वर्षीय पन्तको तीन वटा हार्डवेयर पसल छन् भने एउटा बिजुली बत्ती पसल सञ्चालनमा ल्याउँदै छन् ।
यस्तो छन् पन्तका योजना
आफ्नो टिम युवा ऊर्जा, अनुभव र जिम्मेवारीको संगम हुने उनले बताए । आफ्ना प्यानलका अन्य उमेदवारको नाम केहि दिनमा सार्वजनिक गर्ने उनले जानकारी दिए । आफ्नो टिमले गर्ने कामको योजनाबारे भने उनले खुलाएका छन् ।
बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइटी जस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्य लिइएको उनी बताउँछन् ।
जिल्लाका व्यवसायीको पसिना र लगानीले चितवनको अर्थतन्त्र धानेको बताउँदै उनले विगत केही वर्षयता बजारहरु अव्यवस्थित र असन्तुलित हुँदै गएको बताए । ‘व्यवसायीहरुले लगानी गरेका छन्, कर तिरेका छन्, तर त्यसको प्रतिफलमा निराशा र असहज वातावरण मात्रै पाएका छन्’, उनी भन्छन्, ‘नारायणगढ बजार आज फोहोर, पार्किङ अभाव, ट्राफिक जाम र योजनाविहीन व्यवस्थापनको उदाहरण बनेको छ । पसलभित्रका ग्राहक सडक फुटपाथमा हराइरहेका छन् । स्थायी व्यवसायीहरूले कर तिरेर पसल चलाउँदा, फुटपाथमा अनुमति बिना व्यवसाय हुने प्रवृत्तिले असमान प्रतिस्पर्धा र अन्यायपूर्ण बनाएको छ ।’
तीन तहका सरकारलाई कर तिरेर सञ्चालन भएका व्यवसायलाई सुरक्षित गर्न फुटपाथ व्यवसायको सहि व्यवस्थापन आवश्यक रहेको उनले बताए । सरोकारवाला निकायसँग समन्वय गपरी रात्री समयमा पनि बजार सुरक्षित बनाउन आफुहरुले काम गर्ने उनले जानकारी दिए । ‘रत्ननगर, टाँडी, खैरहनी, माडी र इच्छाकामना जस्ता क्षेत्रका व्यवसायीहरुलाई पनि समान ध्यान दिइनेछ । यी क्षेत्रहरुलाई चितवनको आर्थिक केन्द्रसँग जोड्ने डिजिटल र नीतिगत पहल गर्नेछौं’, उनले भने ।
‘मेड इन नेपाल’ अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पु¥याउने र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सारिने उनले बताए । त्यस्तै, संघलाई पारदर्शी, समावेशी र नतिजामुखी बनाउने उनले उद्घोष गरे । ‘योजनाहरू व्यवसायी सामु प्रस्तुत गरिनेछ र हरेक आवाजलाई सुन्ने नेतृत्व प्रणाली विकसित गरिनेछ’, उनी भन्छन्, ‘हामी युवा पुस्ता हौं, तर अनुभव र जिम्मेवारी दुवैको सम्मान गर्छाैँ । पुरानो पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोश मिलाएर मात्रै संघ सशक्त बन्न सक्छ भन्ने हाम्रो विश्वास छ ।’











