भरतपुर । तिहारको अवसरमा वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा सामुहिक गौ पूजन तथा हवनात्मक अखण्ड हरिनाम कृतन हुने भएको छ ।
भरतपुर–१ स्थित आश्रममको गौ संरक्षण केन्द्रमा कात्तिक ३ गतेदेखि ५ गतेसम्म गौ पूजन तथा हरिनाम कृतन हुने भएको हो । कात्तिक ३ गते लक्ष्मी पूजा, कात्तिक ४ गते गाई पूजा र कात्तिक ५ गते गोवद्र्धन पूजाको दिन रहेको छ ।
धर्मशास्त्रानुसार गाईमाता वात्सल्यकी प्रतिमूर्ती, विना मूल्यको औषधालय, रहस्यमयी ज्ञानकी खानी, सेवाकी प्रतिमूती र ३३ कोटी देवताहरूको बासस्थान हुन् । गाई विना हाम्रो संस्कृति, हाम्रा यज्ञ र कर्महरू अपूर्ण हुन्छन् । मानव मात्रको लागि अमृत स्वरूप दुधको प्रदात्री गाई नै हुन् । गाईलाई लक्ष्मीको प्रतिकको रूपमा पूजीने गरिन्छ ।
वागीश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रमका प्रमुख संरक्षक, गोरक्षपिठका पिठाधीश योगी श्रृषनाथ उपस्थिति र नेपाल सन्त समाजका महासचिव एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरू प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमको कात्तिक ३ गते बिहान साढे ७ बजे उद्घाटन गर्ने तय भएको छ ।
त्रिदिवसीय सामुहिक गौ पूजन तथा अखण्ड हरिनाम कृतन कार्यक्रममा वैदिक गाईको वैदिक विधीबाट पूजा गरिने वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमका अध्यक्ष अशोक पोखरेल शर्माले बताए । सनातन धर्म, संस्कार र संस्कृतिको रक्षाका लागि उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । राष्ट्रगुरू योगी नरहरिनाथको पहलमा २०३९ सालदेखि आश्रमले स्थानीय जातका गाई संरक्षण अभियान सुरू गरेको हो ।












