देवघाट (तनहुँ) । लामो समयदेखि श्वासप्रश्वासको गम्भीर समस्यासँग जुधिरहेका देवघाट गाउँपालिका–१ गोपीटारका ४३ वर्षीय तीर्थलाल गुरूङलाई गोरखाली तमू समाज र तमू प्ये ल्हु संघ चितवनले संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन्।
तीर्थलालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई संस्थाले कूल ६१ हजार पाँच रुपैयाँ हस्तान्तरण गरेका छन्।
गोरखाली तमू समाजको तर्फबाट ४६ हजार पाँच रुपैयाँ नगद सहयोग गरिएको हो भने, तमू प्ये ल्हु संघ चितवनले अक्सिजनको सानो सिलिण्डरको मूल्य बराबर १५ हजार रुपैयाँ प्रदान गरेको हो।
सहयोग रकम देवघाट गाउँपालिका–१ का अध्यक्ष मणिराज गुरूङको विशेष उपस्थितिमा तीर्थलालकै निवासमा पुगेर तीर्थलालकी धर्मपत्नी विष्णुमाया गुरूङलाई हस्तान्तरण गरिएको थियो।
यसअघि करिब दुई महिनाअघि चितवन पोष्ट दैनिक र अन्य डिजिटल सञ्चारमाध्यममार्फत तीर्थलालको स्वास्थ्य अवस्थाबारे समाचार र भिडियो सामग्री सार्वजनिक भएपछि सहयोगका लागि पहल थालिएको हो।
गोरखाली तमू समाजतर्फबाट आर्थिक संकलनको संयोजन तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनकी कोषाध्यक्षसमेत रहेकी ज्ञानदेवी गुरूङले गरेकी थिइन्।
त्यस्तै, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूको संयोजनमा व्यक्तिगत र संस्थागत सहयोग जुटाइएको थियो।
रकम हस्तान्तरण कार्यक्रममा गोरखाली तमू समाजका अध्यक्ष भुवन गुरूङ, आमा समूहकी अध्यक्ष मनिला गुरूङ र रकम सङ्कलन संयोजक ज्ञानदेवी गुरूङ, तमू प्ये ल्हु संघका अध्यक्ष विक्रम च्हम्रु तमू, कोषाध्यक्ष रिता गुरूङ, सदस्य दानबहादुर गुरूङ, सल्लाहकार पञ्चबहादुर गुरूङलगायतको उपस्थिति थियो।
गोरखाली तमू समाज र तमू प्ये ल्हु संघ चितवनले समुदायमै रहेका समस्याग्रस्त परिवारलाई लक्षित गर्दै दसैँको अवसरमा सहयोग हस्तान्तरण गरेकोमा वडाध्यक्ष मणिराज गुरूङले संस्थाहरूको प्रशंसा गर्दै आभार व्यक्त गरे।
स्वासप्रश्वासमा समस्या भएपछि तीर्थलाललाई नियमित अक्सिजनको आवश्यकता पर्न थालेको छ। हाल उनी बिजुलीबाट चल्ने अक्सिजन मेसिनको सहायताले जीवन धानिरहेका छन्।
तर, मेसिनको खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको उनको परिवारलाई यो सहयोगले केही राहत मिलेको छ।
संस्थाहरूले भने भविष्यमा पनि आवश्यक परेमा थप सहयोगको सम्भावना खुला राखेका छन्। समुदायभित्रको एकता र सहकार्यले विपद्का बेलामा राहत र सहारा बन्न सक्ने उदाहरणस्वरूप यो सहयोग प्रेरणादायी बन्न पुगेको छ।













