विराटनगर। ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जना पक्राउ परेका छ्न् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा आरोपितलाई सार्वजनिक गरिएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहित सार्वजनिक गरिएको बताए।
ट्रान्सफर्मरहरु चोरी भएको भन्ने सुचनाको आधारमा विशेष निगरानी बढाई संकास्पद स्थानहरुमा स्टिङ अपरेशन, Technical Analysis, सिसि टिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरु बिक्रि तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तथा तामा फ्याक्ट्रीहरुमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न व्यक्तिहरु र उक्त चोरीका सामग्री खरिद गर्ने व्यक्ति पक्राउ परेको जानकारी दिए।
ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरु तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न मोरङ ग्रामथान-४ का ४२ बर्षीय अर्जुन कुमार माझी, ग्रामथान- ५ का ३१ बर्षीय इरज धामी, बेलबारी- ३ का २७ बर्षीय रञ्जित तामाङ, बेलबारी- ४ का २६ बर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-३ का ३५ बर्षीय अनुज विस्वास, दुहवी- २ का ३९ बर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहवी- ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ बर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो ।
त्यस्तै चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ बर्षीय लक्ष्य प्रधान, विराटनगर- ६ का ६२ बर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ बर्षीय योगेश अग्रवाल, दुहबी- २ का ३१ बर्षीय कपिल भट्ट र इटहरी- ४ का ३९ बर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम, इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलिप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित बिनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम, बिराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो ।
चोरीमा संलग्न व्यक्तिहरुबाट बिभिन्न साइजका डायल रेन्च थान २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, व्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनिहरुले प्रयोग गरेका को. १ च ७७२९ नम्वरको पिकप गाडी १ थान, बिभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोवायल समेत बरामद गरेको थियो । उक्त समुहले मोरङको विभिन्न स्थानबाट ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।











