रौतहट । रौतहटमा चट्याङ लागेर एउटै गाउँका तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनिया देवी, ७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् । मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी ४० वर्षकी सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।
यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले बताए ।











