चितवन । चितवनमा घर बनाउने मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आजदेखि सुरु मेलाको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मन्त्री सिलवालले एउटै छानामुनी घर बनाउने सबै जानकारी र सामाग्री उपलब्ध हुने मेला सबैको लागि महत्वपूर्ण रहेको बताए । मेलामा विदेशी सामाग्री भन्दा स्थानीय उत्पादन प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।‘
‘हामीले यस्ता उत्पादनमा स्थानीय श्रोत र उत्पादनको प्रर्वद्धन गर्नुपर्छ’, उनले भने, ‘यसका लागि सरकारले जग्गाको वर्गीकरण गरेर व्यस्थित पनि गर्नुपर्छ ।’ चितवन देशकै केन्द्र र बसोबासको लागि उत्कृष्ट जिल्ला भएकोले पनि यो मेला उपलब्धिमुलक हुने उनको भनाई थियो ।
मन्त्री सिलवालले घर निर्माण गर्दा भुकम्प प्रतिरोधी र खर्च मितव्ययी हुने खालको निर्माण गर्नुपर्ने बताए । आफ्नो दक्षता अनुसार नेपाली पन झल्कने घर निर्माणका लागि प्राविधिकले सुझाब दिनुपर्ने भन्दै उनले प्रदेश सरकारले पनि वन जंगलको संरक्षण गरेर उपयोग गर्ने नीति अवलम्बन गरिरहेको बताए ।
‘नेपालको जल, जंगल र जडिबुटी प्रयोग गरेर समृद्धि हाँसिल गर्ने हो’, उनले भने, ‘अब जंगलमा ढलेको रुख देख्न पाउनुहुने छैन, प्रदेश सरकारले सोही अनुरुपको योजना बनाउँदैछ ।’
उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले मेलाले घर निर्माण गर्न चाहने सेवाग्राही र व्यवसायीलाई जोड्ने काम गर्ने बताए । उनले व्यवसायीको व्यवसाय प्रवर्द्वन र बजारलाई आर्थिक रुपमा चलायमान बनाउन मेला महत्वपूर्ण हुने उल्लेख गरे । यस्ता मेलाहरु हरेक वस्तुगत संघहरु बेलाबखत गर्नुपर्नेमा समेत उनले जोड दिए ।
घर बनाउने मेला चितवनमा पहिलोपटक आयोजना गरिएको हो । वैशख २७ गतेसम्म चल्ने मेला एस वन होम्स र भी ग्रुपले आयोजना गरेका हुन् । मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ ।
मेलामा नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ ।












