काठमाडौं । वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि आज सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।
यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।
एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।
यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अपनाउँछन्। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।
विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।












