ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन्।
‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिए।
मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “केही फेसबुक र युट्युब र आँखामा कालो पट्टी बाँधेर हेर्ने दृष्टिकोण भएकाहरुका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ। त्यो यथार्थ होइन।”
विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरुलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे।












