चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षक आन्दोलनका कारण बालबालिकाको शिक्षा पाउने मौलिक हकको ठाडै उल्लंघन भएको बताएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै दाहालले शिक्षकका मागहरुप्रति सरकार गैरजिम्मेवार र उदासिन देखिएको भन्दै जायज माग तत्काल सम्बोधन गरी विद्यालय पठनपाठन सहज बनाउन सरकारसँग माग गरेकी छन् ।
उनले लेखेकी छन्–
नेपाल शिक्षक महासंघको नेतृत्वमा मिति २०८१ साल चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित शिक्षक आन्दोलन अपेक्षितभन्दा लामो समयसम्म लम्बिँदै जाँदा विद्यालयका नियमित गतिविधि र शैक्षिक कार्यक्रमहरू पूर्णतः अवरुद्ध भई बालबालिकाको शिक्षा पाउने मौलिक हक ठाडै उल्लंघन भएको छ। लामो समयसम्म विद्यालय यसरी बन्द हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत करिब पचास लाख विद्यार्थी र तिनका लाखौं अभिभावकहरूमा नकारात्मक असर परेको छ। शिक्षकहरूका मागहरूप्रति सरकार गैरजिम्मेवार र उदासीन देखिएको छ। शिक्षकहरूका जायज मागहरू तत्काल सम्बोधन गरी विद्यालयको पठनपाठन सहज बनाउन सरकारसँग माग गर्दछु।












