काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद राईलाई प्रहरीले शनिबार साँझ कपन क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेकी राईलाई आइतबार अदालत उपस्थित गराइएको थियो ।
उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा राईमाथि काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । सो सहकारीको सञ्चालक समितिको तत्कालीन सहसचिवको जिम्मेवारीमा रहेकी राईसहित ४० जना जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राईलगायत आरोपितमाथि सहकारीका ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप छ ।












