चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निलगाईको आक्रमणबाट निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको छ ।
निलगाईको आक्रमणबाट भरतपुर–२४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन् । निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिनो कोखामा चोट लागेको थियो ।
निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।












