चितवन । शिशु फर्टिलिटी क्लिनिकले छोटो समयमा निःसन्तापनको समस्या भएका धेरै दम्पतीको उपचार गर्न सफल भएको छ । क्लिनिकले स्थापनाको साढे दुई वर्षमै ५०० शिशुको जन्म गराउन सफल भएको छ ।
भरतपुरको पुरानो मेडिकल कलेज अगाडि सञ्चालनमा रहेको शिशु फर्टिलिटीले विभिन्न उपचार पद्धतिबाट निःसन्तान दम्पतीलाई सन्तान सुख प्राप्तीको सेवा दिएको हो ।
५०० शिशुले जन्म लिएको अवसरमा क्लिनिकले बुधवार भरतपुरमा एक कार्यक्रमका बिच ५००औँ जन्मउत्सव समेत मनाएको छ । क्लिनिकले आईभीएफ, आईयूआई लगायत औषधी र परामर्शको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।
शिशु फर्टिलिटी क्लिनिकले छ महिनादेखि आईभीएफ प्रविधि मार्फत सेवा दिइरहेको छ । छ महिनामा यस प्रविधि मार्फत २२ जना दम्पतीलाई सन्तान सुख दिन सफल भएको शिशु फर्टिलिटी क्लिनिकका सञ्चालक अभिनाश भण्डारीले जानकारी दिए । अन्तराष्ट्रिय स्तरको टेक्नोलोली मार्फत गरिने भएकाले आईभिएफ प्रविधि मार्फत ८० प्रतिशत दम्पती सफल भएको उनले बताए । यस प्रविधि मार्फत बच्चा राखेका १७ दम्पतीको गर्भ सफल भएको छ ।
निसन्तान भएका दम्पती चितवन बाहिर जान नपर्ने शिशु फर्टिलिटी क्लिनिकका सञ्चालक चिरञ्जीवि ढकालले बताए । बच्चा नहुँदा मानसिक समस्या समेत हुने भएकाले त्यसलाई हटाउन भरतपुरमा शिशु फर्टिलिटी क्लिनिक सञ्चालनमा ल्याईएको उनको भनाई छ । आफु पनि सन्तान नभएर मानसिक समस्या खेपेको भन्दै ढकालले निसन्तानहरुका लागि सन्तान प्राप्तीको सेवा दिन लागेको बताए । ‘मेरो १३ वर्षसम्म बच्चा नहुँदा धेरै तिरबाट तनाव भोग्न परेको थियो । हामीलाई दशैं नआए हुन्थ्यो भन्ने लाग्थ्यो । श्रीमती माइत जान नमान्ने । आफ्ना भोगाई राख्दै’ उनले भने, ‘आईभिएफ प्रविधि मार्फत बच्चा जन्माएपछि अरुलाई पनि सन्तान प्राप्तीमा सहयोग गर्नुपर्छ भनेर क्लिनिक खोलेका हौँ ।’
उपचार प्रकृया लामो हुने भएकाले होटलमा बस्नेहरुलाई समस्या हुने हुँदा चितवन आसपासका जिल्लालाई लक्षित गरेर भरतपुरमा क्लिनिक खोलिएको उनले बताए । आइभिएफ प्रविधि मार्फत बच्चा जन्माउनका लागि साढे तीन लाख रुपैयाँसम्म लाग्ने गर्दछ । चिकित्सा पेसाभन्दा बाहिर दुई युवा मिलेर क्लिनिक सञ्चालन गरेका हुन् । उनीहरुले साढे तीन करोडको हाराहारीमा लगानी गरेका छन् ।
डा।सुजन भुषालले बाँझोपन महिला र पुरुष दुवैमा हुने भन्दै एक अर्कालाई दोस नदिन आग्रह गरिन् । सन्तान प्राप्तीका लागि उपचार सम्भव भएको भन्दै सबैलाई आईभिएफ प्रविधि आवश्यक नपर्ने उनको भनाई छ ।
क्लिनिकले निसन्तान हुनेहरुलाई मानसिक, सामाजिक तथा पारिवारिक हिंसा हुने भन्दै जनचेतना जगाउन स्वयसेविकालाई अभिमुखिकरण कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिका ६० जना स्वयसेविकालाई निसन्तान सम्पन्धी उपचारका विषयमा जानकारी गराइएको हो । कार्यक्रममा डाक्टर शुभ श्रेष्ठ, डा।सुजन भुषाल, मकनामना हस्पिटलका अध्यक्ष धुर्व काफ्ले, स्यवसेविका शुभद्रा श्रेष्ठ लगायतले मन्तवय राखेका थिए । साथै चिकित्सा प्रविधि मार्फत सन्तान प्राप्त गरेका दम्पतीले सन्तान प्राप्त नहुँदाको पीडा र सन्तान प्राप्तभएपछिको खुशी व्यक्त गरेका थिए ।













