भरतपुर । गृहमन्त्री रमेश लेखकले सहकारी अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै मानवअधिकार हनन नभएको बताएका छन् ।
आज चितवनमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले रविलाई काठमाडौँबाट पोखरा राति लैजाँदा कानुनविपरीत नहुने, चितवनबाट लैजाँदा गैरकानुनी कसरी रु भन्दै प्रश्न गरेका थिए । पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘काठमाडौँबाट उहाँले नै राति गाडीमा जान्छु भनेर पोखरा लगिएको हो, प्लेनमा जान उहाँले नै मान्नुभएको होइन, अनि चितवनबाट गाडीमा लैजाँदा गैरकानुनी कसरी हुने ?’
गृहमन्त्री लेखकले रवि लामिछानेमाथि भएको सहकारी अपचलनमा भएको अनुसन्धान गैरकानुनी नभएको बताएका छन् । उनले न्यायिक प्रणाली प्रभावित हुने गरी कसैलाई नबोल्न आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइप्रति टिप्पणी गर्दै गृहमन्त्री लेखकले भने, ‘प्रचण्डको टिप्पणी दुर्भाग्य छ ।’ प्रचण्डले केही दिनअघि चितवन आएर रवि लामिछानेमाथि मानव अधिकार हनन भएको बताएका थिए ।