हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई ब्युँताउन सरकारले तीव्र तयारी गरिरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै रुग्ण अवस्थामा रहेको यो उद्योगलाई छिट्टै पुनर्जीवन दिइने बताएकी छन्।
शनिबार उद्योगको अवस्था नियाल्दै मन्त्री यादवले भनिन्, “देशको आर्थिक अवस्था सुदृढ गर्न र नयाँ रोजगारी सिर्जना गर्न बन्द उद्योगहरू सञ्चालन गर्नुको विकल्प छैन। हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमै आवश्यक रकम विनियोजन गर्नेछ।”
निरीक्षणका क्रममा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख संगिता कुँवरले मन्त्री यादवलाई औद्योगिक क्षेत्रको समग्र अवस्था र कपडा उद्योगको वर्तमान स्थितिका बारेमा जानकारी गराएकी थिइन्। सरकारले यसपटक रुग्ण उद्योग ब्युँताउने नीतिलाई प्राथमिकतामा राखेकाले स्थानीय स्तरमा पनि उद्योग पुनः सञ्चालन हुने आशा जागेको छ।












