सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा पहिरो जाँदा एक भेडीगोठ पुरिएर ठुलो संख्यामा भेडा बेपत्ता भएका छन्।
मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा आज बिहान वर्षापछि अचानक आएको पहिराले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार गोठमा रहेका कुल २५० भेडामध्ये २१८ वटा पहिरोमा पुरिएर बेपत्ता भएका छन् भने ३२ वटा भेडा मात्र जीवित अवस्थामा फेला परेका छन्।
प्राकृतिक प्रकोपको यस घटनामा एक जना भेडा गोठालासमेत घाइते भएका छन्। पहिरो र बाढीमा परेर २० वर्षीय झलक गुरुङ घाइते भएका हुन्, जसको हात र खुट्टामा चोट लागेको छ। गोठमै रहेका अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहन सफल भएका छन्।
भौगोलिक विकटताका कारण घटनास्थलमा तत्काल उद्धार र खोजी कार्य अघि बढाउन निकै कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र झन्डै १० घण्टाको पैदल दुरीमा पर्दछ। घटनाको जानकारी पाएलगत्तै नुम प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय बासिन्दा उद्धार तथा बेपत्ता भेडाको खोजीका लागि घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्।












