विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २४ गते भएको विध्वंसको घटनालाई ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले आफ्नै पूर्वप्रतिबद्धता अनुसार उक्त घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।
थापाले भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नुपर्नेमा जोड दिए। प्रतिवेदनका आधारमा दोषी पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिकिर गर्दै उनले भने, “मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक हुन नदिन चौतर्फी दबाब दिइएको सुनिएको छ, यस्ता लोकतन्त्रविरोधी कार्य तत्काल बन्द गरियोस्।”
पत्रकारहरूको एक प्रश्नको जवाफ दिँदै सभापति थापाले वर्तमान सरकार गठन भएदेखि नै कार्यपालिकाले राज्यका अन्य दुई प्रमुख अंगहरू—व्यवस्थापिका र न्यायपालिका—लाई आफ्नो नियन्त्रणमा राख्ने कुचेष्टा गरिरहेको आरोप लगाए। शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका यस्ता गतिविधि कांग्रेसलाई मान्य नहुने स्पष्ट पार्दै उनले सरकारका गलत क्रियाकलाप रोक्न आफ्नो पार्टीले निरन्तर प्रयास जारी राख्ने बताए।
यसैगरी, पार्टीको आन्तरिक राजनीतिका विषयमा बोल्दै सभापति थापाले मुलुकको वर्तमान गम्भीर अवस्थालाई बुझेर पार्टीभित्रका हरेक असहमति र विमतिहरूलाई संवाद र सहमतिमा टुङ्ग्याउन आफू तयार रहेको उल्लेख गरे। केन्द्रीय समिति बाहिर रहेका सबै पक्षलाई समेटेर अगाडि बढ्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले नेता तथा कार्यकर्ताहरूलाई पार्टीको विधि, विधान र पद्धतिभन्दा बाहिर गएर कुनै पनि गतिविधि नगर्न आग्रह गरे।












