काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि लिग चरणका दुई खेल हुनेछन् । यसपछि सोमबार लिग चरणको अन्तिम खेल हुनेछ । आज पहिलो खेल काठमाडौं गुर्खाज र विराटनगर किंग्स तथा दोस्रो खेल सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच बीच हुनेछ ।
सुदूरपश्चिम बाहेक बाँकी तीन टिमको लिग चरणमा आफ्नो अन्तिम खेल खेल्दैछन् । विराटनगर र पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिसकेका छन् । त्यसैले उनीहरुका लागि आजको खेल औपचारिकता मात्र हुनेछ ।
आजको पहिलो खेल काठमाडौं गुर्खाज र विराटनगर किंग्सबीच बिहान ९ बजे सुरु हुनेछ । काठमान्डु गुर्खाजका लागि प्लेअफ होड कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।
६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डुले प्लेअफ पुग्न आफ्नो अन्तिम खेलमा विराटनगरलाई जितेर मात्र पुग्दैन । आवश्यक अन्तरमा जित्नुपर्नेछ ।
प्लेअफ होडमा रहेका चार टिम मध्ये सबैभन्दा कठिन अवस्थामा छ काठमान्डु गुर्खाज । त्यसैले आज काठमान्डु फराकिलो जितको खोजीमा हुनेछ ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्वपूर्ण हुनेछ । सुदूर र पोखरा एभेन्जर्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
सुदूरको अझै दुई खेल बाँकी रहेकोले आजको खेल हारेपनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ । सुदूरले अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ ।
यदि आजको पहिलो खेलमा काठमान्डु विराटनगरसँग हारेमा सुदूर दुई खेल बाँकी हुँदै प्लेअफमा पुग्नेछ ।
५ खेल खेलेको सुदूरपश्चिम ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । नेटरेनरेट धेरै राम्रो रहेकोले सुदूरको लागि थोरै अन्तरको हारले पनि असर गर्ने छैन । आजको खेल जितेमा सुदूरको शीर्ष दुईको यात्रा करिब पक्कापक्की हुनेछ । ७ खेल खेलिसकेको जनकपुर १० अंक जोडेर शीर्ष स्थानमा छ ।












