चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको बताएका छन् । आज प्रेस वक्तव्य जारी गर्दै उनले राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने अवस्था पीडादायी भएको बताए ।
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएका मृतकप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे । ‘हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु’, वक्तव्यमा भनिएको छ ।
‘अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।
अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु’, प्रचण्डले लेखेका छन् ।











