चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा कार, मोटरसाइकल र अटो आपसमा ठोक्किएका छन् । तीन वटा सवारी साधन आपसमा ठोक्किदा छ जना घाइते भएका छन् ।
आज दिउँसो साढे ४ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १२०८ नम्बरको अटो, सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ७९५५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा प्र ३–०१–०२२ च ९८०० नम्बरको कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
सवारी साधनहरु ठोक्किँदा घाइते भएका कार चालक रत्ननगर नगरपालिका–७ बस्ने वर्ष ३५ को सरद कुमार महतो सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चालक रत्ननगर–१२ बस्ने वर्ष ३० को कुञ्जन कुमार तिमल्सेना र मोटरसाइकल पछाडि सवार चालककी श्रीमती २८ वर्षीय कमला देवकोटाको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
अटो चालक भरतपुर–११ बस्ने वर्ष ४८ को रेशम घिमिरेको टाउकोमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ । अटोमा सवार रत्ननगर–८ बस्ने वर्ष ३९ की सारदा घिमिरे र उनका छोरा १८ वर्षीय साकार घिमिरे मध्यम घाइते भएका छन् ।











