चितवन । चितवन क्षेत्र नम्वर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार तथा एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले सांसद हुन मात्र नभई देश र जनताका पक्षमा काम गर्न उम्मेदवार बनेको बताएका छन् । स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको ज्ञवालीले बताए ।
बुधबार भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले चितवनका जनताबाट टाढा नभई हरेक सुखदुखमा साथमा रहेको बताएका छन् ।
‘हाम्रो नेतृत्वमा सरकार बनेमा बृद्धभत्ता मासिक पाँच हजार पु¥याउँछौं,उनले भने’,युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्छौ ।’ उनले एमाले सरकारमा हुँदा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनतामाझ लोकप्रिय रहेको बताए । जनताको आर्थिक अवस्था उकास्ने योजना एमालेसंग मात्रै रहेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह गरे।
‘एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ,नेपाल सिक्किमिकरण हुनबाट बचाउन र राष्ट्रियता कायम गर्न सक्नेछौं’,उनले भने।’ स्थानीय, प्रदेश र संघ सरकारलाई बलियो बनाएर जनताको काम गर्ने योजनाका साथ एमाले निर्वाचनमा होमिएको उनको भनाई छ । ज्ञवालीले चितवन २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसंगै घरदैलो गरिरहेका छन्।












