सुनिता सुवेदी
चितवन । चितवनको पर्यटकीय स्थल सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड बढेको छ । जंगल सफारीमा बेलुकाको साढे ५ बजेभित्र जंगल बाहिर निस्किसक्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जको नियम छ । आजकल साँझपख राप्तीको किनारमा पर्यटकको बाक्लो भीड देखिन्छ । करिब ५ बजेतिर जंगलबाट निस्केर डुङ्गा तरेर राप्ती वारी आउने आन्तरिक तथा बाह्य पर्यटकको लाइन लाग्छ । कोरोनाकालमा थलिएको यहाँको पर्यटनले विस्तारै गति लिन थालेको छ ।
युनाइटेड हात्ती सहकारी सौराहाका अध्यक्ष ऋषी तिवारीका अनुसार पछिल्लो समय सौराहामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । दशैँ तिहार विदामा आफन्त भेटघाट गर्न आउने र एकदिन सफारी गर्ने पर्यटकको संख्यामा वृद्धि भएको उनले बताए । आन्तरिक पर्यटनमा वृद्धि भएतापनि गतवर्षको तुलनामा बाह्य पर्यटकको संख्यामा भने खासै वृद्धि हुन नसकेको उनी बताउँछन् ।
सौराहाका होटल अघिल्ला वर्ष यतिबेलाको समयमा भरिने गरेकामा अहिले भने औसतमा एक होटलमा एक पर्यटक पनि नपुगेको तिवारी बताउँछन् । ‘अघिल्ला वर्षहरुमा हजारौँको संख्यामा विदेशी पर्यटक आउँथे तर यसवर्ष अझै कम छन्’, उनले भने, ‘दुई अढाई सय बाह्य पर्यटकको संख्या भनेको अत्यन्तै न्युन हो ।’

कोरोनाले थलिएको सौराहाको पर्यटनमा अहिले आन्तरिक पर्यटकको संख्यामा वृद्धिले राहत मिलेको उनले बताए । पछिल्लो समय भारतबाट पनि पर्यटकहरु आउने क्रम बढेको उनले बताए । तिवारीका अनुसार नेपालमा सडक यात्रामा सहज नहुनुको साथै नेपाल सरकारले पर्यटन खुल्यो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश पु¥याउन नसकेकोले बाह्य पर्यटकको संख्यामा वृद्धि हुन नसकेको हो ।
सौराहामा अहिले ३२ वटा हात्तीहरु जंगल सफारीको लागी सञ्चालनमा रहेको तिवारीले जानकारी दिए । पछिल्लो समय विहान बेलुका गरी चार टिप मात्र चलाउने गरिएको उनी बताउँछन् । दशैँको बेलामा पानी परेर ठप्प रहेको जंगल सफारी वर्षा रोकिएसँगै धमाधम सञ्चालन भएको छ ।
जीप सफारी गर्नका लागि गाइड समेत अभाव हुन थालेको छ । जंगल सफारी गर्र्ने पर्यटकको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको सौराहा जीप तथा डुङ्गा बुकिङ सेन्टरका कर्मचारी उमेश दाहालले बताए । ‘दशैँपछि सफारी जाने पर्यटक अत्यधिक बढेका छन््’, उनी भन्छन्, ‘हात्ती सफारी भन्दा जीप सफारी गर्ने पर्यटक धेरै छन् ।’

असोज २५ गतेबाट आन्तरिकसँगै बाह्य पर्यटक पनि विस्तारै बढ्दै गइरहेको उनले बताए । उनका अनुसार नेपाली पर्यटक सामुदायिक वनमा छोटो समयको सफारी गर्छन् भने विदेशीहरु लामो समयको निकुञ्ज परिसरमा सफारी गर्न रुचाउँछन् । अहिले सौराहामा ३२ वटा जीप जंगल सफारीका लागी सञ्चालनमा छन् ।
होटल व्यवसायी असन्तुष्ट
सौराहामा पर्यटकको संख्या बढ्दै गएको भएतापनि होटल व्यवसायी भने अझै सन्तुष्ट छैनन् । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आवको हालसम्म पर्यटकको संख्यामा वृद्धि हुन नसकेको होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।
पर्यटक आएपनि जंगल सफारी गरेर फर्किने तर न्युन संख्यामा मात्र होटलमा बस्ने भएकोले अझै होटल व्यवसायी सन्तुष्ट हुन नसकेको उनी बताउँछन् । ‘गत वर्ष करिब अढाई लाख पर्यटकले सौराहा घुमेका थिए’, उनी भन्छन्, ‘यस वर्ष हुनै नहुनु भन्दा केहि चहलपहल छ, तर गतवर्ष झैँ पर्यटक हुन्छन् जस्तो छैन ।’

उनका अनुसार सौराहामा आउने पर्यटकहरुमध्ये अधिकांश नेपाली छन् भने भारत, युरोपियन र चिनबाट पनि पर्यटक आउने गरेका छन् । पर्यटनको सिजन बल्ल सुरु भएकोले पर्यटकको संख्यामा अत्याधिक वृद्धि हुने आशा गरेको उनले बताए ।












