चितवन । चितवनमा साढे दुई लाख रुपैयाँ भन्दाबढी नगदसहित १४ जुवाडे पक्राउ परेका छन् । चितवन प्रहरीले हिजो र आज गरी दुई छुट्टा–छुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–१६ सानोगढीबाट हिजो एक लाख ३९ हजार ९९० रुपैयाँसहित १० जना र भरतपुर–२२ पटिहानीबाट आज एक लाख १७ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हिजो साँझ करिब ६ बजेको समयमा सानोगढीस्थित राममाया घर्तीको जग्गामा युवराज गुरुङले सञ्चालन गरेको मीत बा खाजा घर एण्ड कटेजमा लुकिछुपी जुवातास खेली रहेको प्रहरीले नगदसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय कृष्ण बहादुर खत्री, गिरेन्द्र राज हमाल , ३९ वर्षीय बेदनारायण श्रेष्ठ, ५० वर्षीय सुरेस थापा, ६४ वर्षीय दिपक थापा, ३० वर्षीय गोपाल गुरुङ, ४५ वर्षीय दल बहादुर रोका, ५१ वर्षीय युवराज गुरुङ, भरतपुर–३ बस्ने ६४ वर्षीय गणेश पौडेल र भरतपुर–१५ बस्ने ५३ वर्षीय खेम केसी रहेका छन् ।
त्यस्तै आज बिहान करिब २ बजेको समयमा पटिहानीस्थित दुधना महतोको घरमा जुवातास खेल्ने चार जनालाई नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर–११ बस्ने २९ वर्षीय प्रदिप भण्डारी, ४९ वर्षीय बिमल गुरुङ, ३० वर्षीय अशोक प्रजापती र भरतपुर–६ बस्ने ५७ वर्षीय ढोलनाथ अधिकारी रहेका छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।











