इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन्।
आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभामा उनले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ।”
उनले रास्वपा सरकारमा सहभागी भइसकेपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गरे। उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए।
उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे।











