काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै छन्। उनले यो संसदमा तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेका थिए। यससँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्रीले पेश गर्ने प्रस्ताव छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिनेछ।
बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्। त्यसपछि सभामुखले तोकिएको प्रक्रियामार्फत टुंगो लगाउने छन्।
माओवादी केन्द्रसहित सत्तासाझेदार एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले भने विपक्षमा मत दिने निर्णय गरेको छ।
अघिल्लो वर्षको पुस १० गते प्रधानमन्त्री भएका दाहालले २६ गते २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए। दोस्रोपटक एमालेसँगको गठबन्धन तोडिएसँगै चैत ६ गते उनले १७२ सांसदको समर्थन पाएका थिए।












