चितवन । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञअन्तर्गत भएको भजन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सनातन बाल भजन समूह विजेता भएको भएको प्रतियोगिताका संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।
त्यसैगरी, परमानन्द स्मृति वैदिक संस्कृत गुरुकुलम द्धितिय, कालीगण्डकी संकिर्तन समूह तृतीय र माँ कल्याणी वैदिक कन्या गुरुकुलम, रामजानकी बालिका आश्रम, मौलाकालिका धार्मिक सेवा समिति र मिलिजुली भजन समूह रुपन्देही सान्त्वना भएका छन् ।
प्रतियोगितामा विजेता भएको समूहले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । द्धितिय र तृतीय हुने समूहले क्रमशः २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे भने सान्त्वना भएका चार वटा समूहले १०÷१० हजार रुपैयाँ जिते । प्रतियोगितामा सहभागी भएका कुल ६३ वटै समूहलाई प्रमाणपत्र र खैजडी प्रदान गरिएको सापकोटाले बताए । समूह चरणबाट छनौट भएका २७ वटा समूहलाई अन्तिम चरणमा लगिएको थियो ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञमा बिजमन्त्रद्वारा सवा करोड पटक कोटि हवन हुँदैछ । शनिबारसम्म ८० प्रतिशत भन्दा बढीपटक हवन भइसकेको छ । राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै ५९ दिन लामो महायज्ञ गरिएको हो । महायज्ञको उच्चपदस्थ व्यक्तिहरुले पनि दर्शन गर्दै आएका छन् । गत वैशाख १७ गतेदेखि सुरू भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ ।
आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए ।











