चितवन। स्वर्गीय पूर्वराजा महेन्द्र शाहको १०७औँ जन्मजयन्तीको अवसरमा चौविसकोठीमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख संरक्षक योगी बलभद्रनाथ, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम गैरे, सल्लाहकार रुद्रबहादुर शाह, विष्णु खराल, महासचिव रामराजा सिंह, कोषाध्यक्ष विश्व न्यौपाने लगायत विभिन्न सामाजिक व्यक्तित्व तथा स्वतन्त्र नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका संयोजक जिवलाल पुरीले स्वर्गीय राजा महेन्द्रले राष्ट्र निर्माण तथा विशेषगरी चितवनको विकासमा पुर्याभएको योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरिएको जानकारी दिए । उनले राजा महेन्द्रप्रति श्रद्धासुमन अर्पण गर्दै यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिई नियमित परम्पराका रूपमा स्थापित गरिने बताए ।

कार्यक्रमका सहभागीहरूले राजा महेन्द्रको राष्ट्रप्रतिको योगदान, राष्ट्रिय एकता, विकास तथा आधुनिक नेपालको निर्माणमा उहाँले खेलेको भूमिकाको स्मरण गरेका थिए।
कार्यक्रम सञ्चालनका क्रममा सुरक्षा निकायसँग केही सामान्य समन्वयगत असमझदारी देखिए पनि आपसी समझदारीपछि कार्यक्रम शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। दीप प्रज्वलनमार्फत सहभागीहरूले स्वर्गीय राजा महेन्द्रप्रति सम्मान व्यक्त गर्दै उनको योगदानलाई भावी पुस्तासम्म स्मरणीय बनाइराख्नुपर्नेमा जोड दिएका थिए।
चौविसकोठीमा महेन्द्रकाे सालिक पुनःस्थापना गर्ने विषयमा पछिल्लो समय बहस पनि चलेको छ ।












